
प्रकाश मैनाली (इमेज)
सर्लाही, फागुन २ । नेपालमा ठूला–साना गरी ४ हजारभन्दा धेरै सिमसार क्षेत्रहरु भएको अध्ययनहरुले देखाएका छन् ।
सर्लाहीमा प्राकृतिक सिमसारको संख्या नगन्य रहेकोमा भएकै सिमसारको समेत संरक्षण हुन सकेको छैन ।
आउँदो पुस्तालाई पानीको सहज उपलब्धता तथा सिमसार क्षेत्र विकास गर्न सर्लाहीको बागमती नगरपालिकाले १ सय २१ विगाहमा पोखरी निमार्ण गरिरहेको छ ।
पछिल्लो समय तराई मधेसमा पानीको मुहान सुक्दै गएकाले पोखरीको महत्व बढ्दै गएको छ ।
यसलाई मध्यनजर गरेर बनाइएको सर्लाहीको बागमती नगरपालिकामा मानवनिर्मित पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
बागमती नदीले कटान गरेको जग्गालाई उकास्नका लागि तीन वटै तहको लागतमा करीब १ सय २१ बिगाह जग्गामा ताल निर्माणको काम भइरहेको छ ।
बागमती नगरपालिकाको वडा नं ४ र १२ मा आथिक वर्ष २०७५÷२०७६ देखि निर्माण कार्य सुरु गरिएको ताल अहिले खनि सकेर पानी हाल्ने काम भइरहेको नगरपालिकाका सब इन्जिनीयर सुजन बडाल बताउनु हुन्छ ।
निर्माणाधिन तालमा बागमती खोलाको पानी भर्ने काम भइरहेको छ ।
तालमा पानी जम्मा गर्दा ताल रहेको जमिनमा पानीको सतह बढ्नुका साथै पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
यस तालको निर्माण कार्य सम्पन्न भएपछि स्थानीयले रोजगार पाउनुका साथै नगरले झण्डै २० करोड आम्दानी गर्न सक्छ ।
तालको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएपछि यस क्षेत्रमा विभिन्न जलचर तथा स्थलचर प्राणीको संरक्षणमा समेत टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।
तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइने अध्ययनले देखाएको छ ।
ताल निर्माण भइरहेको क्षेत्रको नजिक बागमती नदी भएकाले यसलाई सिमसार क्षेत्रको रुपमा विकास गर्न मद्दत पुग्ने देखिन्छ ।
बागमती नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा लिएको यस योजनामा हालसम्म करीब २० करोड रुपँैया लगानी भइसकेको छ भने ५० करोड रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।
निर्माणाधिन पोखरी नेपालकै नमुना हुने बागमती नगरपालिकाका प्रमुख भरत थापा बताउनु हुन्छ ।
यसरी नदीले काटेर खेर गएको जमिनको सदुपयोग गर्न सके बागमती नगरपालिकाले आर्थिक लाभ गर्नुका साथै वातावरणमासमेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्