
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने दावी गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेको उपलब्धि सुनाउँदै प्रधानमन्त्री ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले यस्तो दावी गरिरहँदा अर्थतन्त्रको अवस्था भने तीन वर्षको औसत आर्थिक वृद्धिदर साढे ५ प्रतिशतमा सीमित छ ।
अस्तव्यस्त रहेको अर्थतन्त्रलाई आफूले सम्हालेको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले सरकारको नेतृत्व सम्हालेको एक वर्षमै ७ प्रतिशत आर्थिक वृद्धि भयो । सात वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’
कोरोनाका कारण केही समय प्रभावित भएपनि मुलुक फेरि उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्को बर्ष १० प्रतिशतको आर्थिक बृद्धि हुने संकेत देखिएको छ ।’
तीन बर्षको अवधिमा २९ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको, ९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरीबीको रेखाबाट माथि उठाइएको, नेपालमा गरीबी नबढेको, भोकमरी नबढेको, सबै स्थानीय तहमा वित्तीय सेवा पुगेको, व्यवसायीक आयकरको दायरा ५२ प्रतिशतले बढेको, बीमा सेवाको विस्तार २२ दशमलब ७ प्रतिशत पुगेको दावी पनि पेश गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्