२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सूर्य चिह्नबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई देउवाको आग्रह


0
Shares

बुटवल, फागुन ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा वैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने शंका उब्जिएको बताउनुभयो ।

नेकपाभित्र चुनाव चिन्हको झगडा रहेको भन्दै उहाँले आयोगले किन चुनाव चिन्हको फैसला नगरेको भन्दै प्रश्न गर्नुभयो ।

सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उहाँले प्रचण्डलाई दिने कि ओलीलाई दिनेबारे छिटो निर्णय गर्न आयोगलाई आग्रह गर्नुभयो ।

सूर्य चिन्ह नपाए प्रधानमन्त्री ओलीले चुनाव नगराउने देउवाले शंका व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन वैशाखमा गराउँछु भने पनि आयोगले अहिलेसम्म निर्वाचनको कार्यतालिका दिन नसकेको उनको भनाई थियो ।

कार्यक्रममा नेकपालगायत विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

त्यसैगरी पोखराको लेखनाथमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले विदेशीको इशारामा संसद विघटन गरेको आरोप लगाउनुभयो ।

संसद पुनःस्थापना नभए मुलुकमा बाह्य शक्तिको चलखेल बढ्ने उहाँको जिकिर थियो ।

त्यसैगरी चितवनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता गगन थापाले तरबार र दरबारसँग लडेको काँग्रेसले ओलीको असंबैधानिक कदम सच्याएरै छाड्ने बताउनुभयो ।