
काठमाडौं, फागुन ३ । कोभिड १९ (कोरोना) भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
सोमबार स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।
खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो ।
जनस्वास्थ्य विज्ञ तथा खोपपश्चात हुनसक्ने अवान्छित घटना निरुपण समिति सदस्य केदार बरालले कोभिड नियन्त्रण गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आम जनसमुदायलाई निर्धक्क र ढुक्क सँग खोप लगाउन आग्रह गर्नुभयो ।
अध्ययन र अनुसन्धानहरुले खोपको प्रभावकारीता देखाएको भन्दै उहाँले खोप सुरक्षित र गुणस्तरीय रहेको दाबी गर्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले आगामी दिनमा कोरोना भाइरसविरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्ने अवस्था पनि आउनसक्ने बताउनुभयो ।
कोरोना संक्रमणबाट निको भएकाहरुले पनि खोप लगाउँदा झनै फाइदा पुग्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोप लिन आग्रह गर्नुभयो ।
सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको १० लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो ।
पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्