
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेस पौडेल समूहले फागुन ५ गते गर्ने भनेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ ।
फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठकका कारण स्थगित गरिएको कांग्रेस नेता नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।
जोशीका अनुसार जिल्ला सभापतिहरू कृयाशिल सदस्यता वितरण र नविकरणमा व्यस्त भएकाले स्थगित गर्नुपरेको बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको थियो ।
सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार महामन्त्री शशांक कोइराला निवासमा पौडेल समूहले भेला भएको थियो ।
फागुन ५ गते सबै जिल्लाका सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।
यस्तै भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरेको थियो ।
गतवर्ष नै हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कोरोना भाइरसको बहानलाई देखाएर एक वर्षपछि सारेर फागुनको ७ गतेलाई मिति तोकिएको थियो ।
तर, तालिकाकअनुसार काम हुन नसकेपछि अब सभापति शेरबहादुर देउवाले थप ६ महिना सभापति हुन पाउने पक्का भएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ ।
तर, असामान्य परिस्थिति उत्पन्न भएमा थप एक वर्ष सभापति रहिरहन पाउने विधानमा उल्लेख गरिएको छ ।
देउवाले उक्त १ वर्ष पनि प्रयोग गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्