
काठमाडौं, फागुन ५ । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शि भएको दाबी गरेको छ ।
संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधाबारको बैठकमा काठमाडौं-तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेको हो ।
समितिमा सेनाले पूर्व योग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यक भन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो ।
नेपाली सेनाले पूर्व योग्यता परिक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ ।
छलफलमा नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठोरले सार्वजनिक खरिद ऐन अनुसार नै पूर्व येग्यता निर्धारण गरिएको बताउनुभयो ।
आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आव्हान गरी निर्माण कार्यलाई तिब्रता दिने प्रक्रिया शुरु गरिएको पनि उहाँले बताउनुभयो ।
द्रुतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं-तराई द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको बताउनुभयो ।
त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माण कर्ता छनोट गर्दा पूर्व योग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावली अनुसार नै सो कार्य सम्पन्न गरिएको बताउनुभयो ।
काठमाडौं–तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ ।
जसमा ३ वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्