८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राष्ट्रपति भण्डारीले संविधानको पालना नगरेको पूर्वराष्ट्रपति यादवको गुनासो


0
Shares

काठमाडौं, फागुन ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गर्नुभएको छ ।

शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको शुक्रबार जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले राष्ट्रपति भण्डारीले संविधानको पालना नगरेको गुनासो गर्नुभयो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले प्रतिनिधिसभा विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने उहाँको भनाइ थियो ।

डा. यादवले राष्ट्रपति भण्डारीको दलीय आवद्धता नछोडेको आशय प्रकट गर्नुभयो ।

आफु कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको भन्दै डा. यादवले उहाँले पनि दिनुभएको होला म आशा गरौं’ भन्नुभयो ।

चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानलाई बचाउने भन्दै उहाँले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश कुन बाटोमा जान्छ त्यसबारेमा केही बताउन नसक्ने उल्लेख गर्नुभयो ।

लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेकाले त्यसलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने डा. यादवको भनाइ थियो ।