२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अष्ट्रेलियामा सोमबारदेखि खोप अभियान शुरु


0
Shares

काठमाडौं, फागुन ९ । अस्ट्रेलियाका विभिन्न शहरमा कोरोना भाइरस विरुद्धको खोप अभियानको विरोधमा केही समूहहरु प्रदर्शनमा उत्रिएको बेला त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउनु भएको छ ।

सोमबारदेखि औपचारिक रुपमा खोप अभियान शुरु गर्नुअघि प्रधानमन्त्री मोरिसनले आइतबार खोप लगाउनु भएको हो ।

खोप अभियानलाई नैतिक बल प्रदान गर्न र खोपप्रति सर्वसाधारणको विश्वास जगाउने उद्देश्यले प्रधानमन्त्री आफैंले खोप लगाएको जनाइएको छ ।

अस्ट्रेलियामा पहिलो चरण अन्तर्गत ६० हजार डोज खोप लगाइने छ भने आगामी मार्चभित्र स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने जनशक्ति गरी ७ लाख मानिसमा खोप लगाउने योजना रहेको त्यहाँको सरकारले जनाएको छ ।

अहिले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप लगाउन लागिएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र भारतको अष्ट्रजेनिकाले विकास गरेको खोपले पनि अष्टे«लियामा मान्यता पाइसकेको छ ।

खोपप्रति विश्वास नभएको भन्दै शनिबार केही मानिसहरुले विभिन्न शहरमा प्रदर्शन गर्दै ‘मेरो शरीर, मेरो इच्छा’ भन्ने नारा लगाउदै खोप अभियानको विरोध गरेका थिए ।

अस्ट्रेलिया सरकारले खोप निशुल्क उपलब्ध गराउने बताएको छ भने खोप लगाउन कसैलाई बाध्य नबनाइएको पनि स्पष्ट पारेको छ ।

अस्ट्रेलियामा हालसम्म कोरोनाबाट २९ हजार संक्रमित बनेका छन् भने ९०९ जनाले ज्यान गुमाएका छन् । (एजेन्सी)