२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


काठमाडौंलाई ३० वर्ष काकाकूल बनाएको मेलम्चीको सुरुङमा बल्ल छाडियो पानी


0
Shares

melamchi water tunnel

सिन्धुपाल्चोक, फागुन १० । तीस वर्षअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थालनी गरेको मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि बल्ल पानी पठाइएको छ ।

तीस वर्षमा पञ्चायती व्यवस्था नै परिवर्तन गरेका काठमाडौंवासीले मेलम्चीको सपना पूरा गर्न अझ कति समय लाग्ने यकिन छैन ।

यद्यपि, अधिकारीहरुले अबको तीन महिनामा काठमाडौंको वितरण प्रणालीमा पानी पठाइने दावी गरेका छन् ।

सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी भर्ने कार्यको शुरुवात खानेपानी मन्त्री मणि थापाले गर्नुभएको हो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम सकाएपछि पानी हालेर परीक्षण थालिएको हो ।

गत असारमा सुरुङमा पानी भर्न परीक्षण गर्दा हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको ढोका नं १७ फुट्दा दुई जनाको मृत्यु नै भएको थियो ।

आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको तीतो विगतलाई ख्याल गर्दै यस पटक पानी परीक्षण कार्यको शुभारम्भ गर्दा ब्रह्मण र लामाहरुले पूजापाठ समेत गरेका छन् ।

परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको पनि जनाइएको छ । उद्धार योजनाका लागि धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालसँग समन्वय पनि गरिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाइएको छ ।

प्रतिसेकेण्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी पठाइने छ । सुरुङमा पानी भरिएपछि करिब दश दिन यत्तिकै राखेर पछि क्रमशः प्रतिसेकेण्ड दुई सय ६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर पानी फालेर सुरुङ खाली गरिने जनाइएको छ ।

पानी फालिसकेपछि सुरुङको गुणस्तर फेरि परीक्षण गरिने आयोजनाले जनाएको छ । यो पानी सुन्दरीजलस्थित दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । यसका लागि करिब तीन महिना लाग्ने आयोजनाको भनाइ छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने आयोजनाको दाबी छ ।

कार्यक्रममा खानेपानी मन्त्री मणि थापाका साथै पूर्वमन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालय र परियोजनाका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।