
काठमाडौं, फागुन १० । नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्ने र उक्त समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको चर्चाकाबीच सो समूहका नेता धर्मेन्द्र बास्तोलालाई भने फेरि पक्राउ गरिएको छ ।
सोमबार सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै पक्राउ गरिएको हो ।
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई आज रिहा गर्न आदेश दिएको थियो ।
लगत्तै प्रहरीले उहाँलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।
थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानूनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।
सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।
अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको छ ।
सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि सरकारले बास्तोलालाई पुनः पक्राउ गरेको हो ।
यसअघि पनि प्रहरीले सर्वोच्चको आदेशको अवज्ञा गर्दै विप्लव समूहका नेताहरुलाई पटक पटक पक्राउ गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्