
काठमाडौं, भदौं २६ । करिब डेढ वर्षदेखि बन्द रहेको मलेशियाको रोजगारी खुला गर्ने सहमति भएको छ । नेपाल र मलेसियाका अधिकारीहरुबीच बिहीबार भएको वार्तामा आइतबारदेखि मलेशियाको गन्तव्य खोल्ने सहमति गरिएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले आइतबारबाट मलेशियाको रोजगारी खुल्न लागेको जानकारी दिएका हुन् । मलेशिया जाने नेपाली आर्थिक भारमा परेको भन्दै सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु खारेज गर्दै १५ महिनादेखि रोजगारीकै लागि रोक लगाएको थियो ।
अब मलेसिया जाने नेपाली कामदारले मलेशिया र नेपाल सरकारबीच गत कात्तिकमा गरिएको नयाँ श्रम सम्झौता बमोजिम सेवा सुविधा पाउने छन् । नयाँ सहमतिअनुसार मलेशिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्बन्धित रोजगारदाताले नै ब्यहोर्नुपर्नेछ ।
कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा फिर्ता गर्ने समझदारी दुई देशबीच भएको छ ।
नेपाली कामदारसँग लिने गरिएको लेबी पनि अब लाग्ने छैन भने करार अवधि तीनबाट दुई वर्षमा झारिएको छ । मलेशिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा दिनुपर्नेछ ।
रोजगारदाताले कामदारका लागि उचित व्यवहार, सही वातावरण र बासस्थानको व्यवस्था, स्वास्थ्य तथा सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । कामदार मलेशियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्ने सहमति पनि गरिएको छ।
कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी विवाद भई सम्बन्धित निकायमा मुद्दा विचारणीय रहेसम्म मलेसिया बस्न पाउने छन् । नेपाली कामदारको परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा, छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था मिलाइएको छ ।
नेपाल सरकारले मलेशिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई यस्तो अधिकार दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्