
काठमाडौं, फागुन १२ । नेकपाको दाहाल–नेपाल समूहले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै बुधबार काठमाडौंमा विजय जुलुस निकालेको छ ।
जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिनुभयो ।
प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा अलिकति पनि नैतिकता बाँकी रहे प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो ।
हारेको प्रतिगामीले उठ्ने प्रयास गरे त्यो दिवास्वप्न मात्र हुने भन्दै नेतृ भुसालले पशुपतिनाथमा गएर पूजा गर्नुभन्दा जनतासँग क्षमायाचना गर्न सुझाव दिनुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजीनामा माग गर्नुभयो ।
नेता जीवनराम श्रेष्ठले प्रधानमन्त्री ओलीको निरंकुश शासन अन्त्य भएको भन्दै बालकोटामा गएर आराम गर्न आग्रह गर्नुभयो ।
शान्तिवाटिकाबाट निस्किएको विजय जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै राष्ट्रिय सभागृह अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीहरुले अदालत र न्यायाधीशहरुप्रति सम्मान व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्