
काठमाडौं, फागुन १३ । प्रतिनिधिसभाका सांसदहरुले विघटित अवधि (पुस ५ देखि फागुन ११) सम्मको सबै तलब भत्तासहित सुविधा पाउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि सांसदहरुको तलब भत्ता सहितका सबै सुविधा रोकिएका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै पुस ५ र फागुन ११ बीचको समयलाई ’शून्य समय’ का रुपमा परिभाषित गरिदिएपछि उक्त अवधिको पनि सबै सुविधा सांसदहरुले पाउने भएका हुन् ।
संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाका अनुसार पुस ५ देखि फागु ११ सम्मको शून्य समयको पनि कानुन अनुसार प्रतिनिधिसभाका सबै २७५ जना सांसदहरुले पाउने भएका छन् ।
धमलाका अुनसार प्रतिनिधिसभाका सबै सांसदहरुले पुस र माघको तलब भत्ता फागुनसँगै एकसाथ पाउने छन् ।
सरकारले एकजना सांसदका लागि तलब भत्तासहित करिब ६५ हजार रुपैयाँ निर्धारण गरिदिएको छ ।
प्रतिनिधिसभाका २ सय ७५ सांसदहरुले मासिक १ करोड ८० लाख रुपैयाँ तलबभत्ता वापत लिने गरेका छन् ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २७५ सांसदको पुस र माघको ३ करोड ७५ रुपैयाँ भुक्तानी तयारी गरेको छ ।
यसका लागि संसद सचिवालयले फागुनको तलबमा पुस र माघको पनि जोडेर निकासा तयारी गर्न लागेको हो ।
तर यो अवधिमा जनतालाई परेको मर्का र दिनुपर्ने राहतबारे भने सांसदहरु मौन छन् ।
प्रतिक्रिया दिनुहोस्