२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्तासमीकरणको विषयमा कांग्रेसले हतारमा निर्णय नगर्ने


0
Shares

काठमाडौं, फागुन १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणको विषय हतारोमा निर्णय गर्ने विषय नभएको बताएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय नेकपाको हातमा रहेको भन्दै अहिले हतारमा निर्णय गर्न अनुपयुक्त हुने निष्कर्ष निकालिएको हो ।

कांग्रेसले संसदीय प्रक्रिया अघि नबढेसम्म सत्ता सहकार्य गर्ने निर्णय गर्न हतार गर्न नहुने बताएको हो ।

बैठकपश्चात् सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा जाने, अविश्वासको प्रस्तावमा सघाउने लगायतका विषयमा कांग्रेसले तत्काल निर्णय नलिने बताउनुभयो ।

बैठक सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न बसेको थियो ।

बैठकमा कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने धारणाहरु सार्वजनिक भएका थिए ।

सत्ता समीकरणको विषय सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने बेला नभएको ठहर गरेको हो ।

बैठकमा नेकपाको दुई समूहबाट आएका अफरहरुको विषयमा छलफल भएको बताइएको छ ।