शून्य समयमा डेंगीदेखि बाघ आतंकसम्म

news
सांसद विनादेवी बुढाथोकी ।

काठमाडौं, भदौ २५ । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेंगी रोग, शिक्षा क्षेत्रमा देखिएको बेथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोरखामा भएको बाघ–भालु आतंकको विषयले सदनमा प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सन्चालनका लागि सरकारले रु पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाइ ज्ञापन गरिन् ।

सांसद सुजिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुनसक्ने चुहावट रोक्न, निगरानी गर्न पशुपतिमा ‘स्क्यानिङ मेसिन’को व्यवस्था गर्न माग गरिन् ।

सांसद विनादेवी बुढाथोकीले ‘निकै छिटो गतिमा डेंगी रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस्’–भनिन् ।

सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेंगी फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइन् ।

सांसद लालकाजी गुरुङले संघीय संसदका सबै सांसदको भूमिका र जिम्मेवारी एकै भएपनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले रु ६ करोड उपलब्ध गराएपनि समानुपातिक निर्वाचन प्रणालीमार्फत् निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला ६ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गरे ।

सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारबाही गर्न माग गरिन् ।

सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्यपदार्थमा दसैं र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सन्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै ‘अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ’–भनिन् ।

सांसद सत्यनारायण शर्मा खनालले ‘मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालिम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ’–भने ।

सांसद सत्य पहाडीले विश्वकै अग्लो मानव बस्तीकारुपमा रहेको डोल्पाको डोल्पोमा भइरहेको महोत्सवको सफलताको कामना गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार मुलुकमा संक्रमणकाल अन्त्य भएको सन्देश दिने काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिइन् ।

सांसद सरलाकुमारी यादवले पाँच वर्षदेखि दसैंमा काठमाडौंवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाएपनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गरिन् ।

सांसद सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको ‘एसिड’ प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताइन् ।

सांसद सञ्जयकुमार गौतमले नेपाल र भारतबीच लामो समयदेखि गुलरिया नाका सन्चालन गर्ने भनी सहमति भएपनि ‘आजसम्म किन सन्चालन हुन सकेन ?’ भनी प्रश्न गरे ।

सांसद हरिलाल अधिकारीले गोरखामा बाघ–भालुको आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएकाले त्यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्न माग गर्दै ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्नेतर्फ पनि सरकारको ध्यान पुगोस्’–भने ।

सांसद ज्ञानकुमारी छन्त्यालले ८०० मेगावाट क्षमताको उत्तर गंगा विद्युत् आयोजना छिटो निर्माण र सन्चालनमा सरकारलाई सुझाव दिइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...