
काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।
सर्वोच्च अदालतको अवहेलना गरेको सम्बन्धमा परेको मुद्दामा आफ्ना तर्फबाट जवाफ पेश गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाल सर्वोच्च अदालतमा आफै उपस्थित हुनुभएको हो ।

दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।
सिन्धुलीका समिर हायुले दाहालका अभिव्यक्तिले सर्वोच्च अदालतको अवहेलना भएको भन्दै दायर गरेको मुद्दामा दहालले लिखित जवाफ पेश गर्नुभएको हो ।
हायुले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार पारेको निवेदन दायर गरेको आरोप लगाउँदै दाहालले जवाफमा भन्नुभएको छ, ‘निवेदकले अरोटको काम गरेको हुँदा दलको नाम, ठेगानासमेत अनभिज्ञ भएको देखिन्छ । यस्ता उडन्ते निवेदन दर्तासम्म हुन नसक्ने हो तापनि सम्मानित अदालतको सम्मानका खातिर आफैं उपस्थित भई जवाफ दिई रहेको छु । प्रधानमन्त्रीले तोकेको निर्वाचन संविधानविरुद्धमा जनतालाई हेप्ने गरी तोकेकामा म पूर्ण विश्वस्त छु ।’

प्रधानमन्त्रीको कदमविरुद्ध जनताको आक्रोश रहेको भन्दै दाहालले, ‘सम्मानित अदालतले संविधानको ब्याख्या गर्ने हो । त्यो जुलुस, नारा र भाषणको ब्याख्या गर्ने होइन । तसर्थ हाम्रो जुलुस, नारा भाषणले स्वतन्त्र, सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन,’ भन्नुभएको छ ।
सर्वोच्चलाई दाहालले लेख्नुभएको छ, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’
केही दिनअघि काठमाडौंमा गरिएको सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो । दाहालको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने रिट निवेदनमा जिकिर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्