२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाहाल–नेपाललाई प्रधानमन्त्रीको चुनौती– केपी ओलीलाई हटाएर देखाउनुस्


0
Shares

झापा, फागनु १६ । अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्री केपी ओलीले दाहाल–माधव समूहलाई चुनौती दिनुभएको छ ।

पार्टीभित्रको बिग्रहका कारण प्रतिनिधि सभासमेत विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछि पनि आफूलाई पदबाट हटाएर देखाउन दाहाल–नेपाललाई खुला चुनौती दिनुभएको हो ।

आइतबार झापाको आफ्नो निर्वाचन क्षेत्रमा बनाउन लागिएको औद्योगिक पार्क शिलान्यास गर्दै ओलीले आफूलाई हटाउन दाहाल–नेपाल कांग्रेस सभापतिसमक्ष लम्पसार परिरहेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दाहाल र नेपाल पुगेको सन्दर्भ कोट्टयाउँदै ओलीले भन्नुभयो, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुप¥यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

देशको विकास रोक्न आफूलाई हटाउन खोजेकामा कांग्रेस सभापति देउवाले विश्वास नगरेर विचार गरौंला भन्दै फर्काइदिएको, जनता समाजवादी पार्टीका नेताहरुले तपाईंहरुको पार्टी कुन हो भनेर प्रश्न गरेको भन्दै ओलीले यसबाट उनीहरु झस्किएको बताउनुभयो ।

आफूसमक्ष हात थापेर राजीनामा गरिदिनुस् भन्दै गिड्गिडाउनहरुलाई प्रधानमन्त्री ओलीले चुनौती दिँदै भन्नुभयो, ‘तपाईंहरुले मुद्दा लडेर ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

पहिले पनि अविश्वास राखेर हटाएको तर आफू जनताबाट फर्किएर आएको भन्दै उहाँले फेरि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाई लिएर आउँछु भन्नुभयो । उहाँले लोकतन्त्रलाई तलमाथि हुन नदिने दाबी पनि गर्नुभयो ।