
काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दाहाल–नेपाल समूह पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताउनुभएको हो ।
संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताउनुभयो ।
पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार दाहाल–नेपाल समूह स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गर्नुभयो ।
निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने उहाँको भनाइ थियो ।
सर्वोच्च अदालतको फैसलापछि ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्