
काठमाडौं, फागुन १९ । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले नेकपा विवादबारे तत्काल निर्णयमा पुग्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उहाँहरूले आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता र आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गर्न आग्रह गर्नुभएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलख बहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन र स्थापित नजीरहरुका आधारमा समेत उपर्युक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गरिएको छ ।
विवाद निरुपणमा ढिलाइ हुँदा निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुई समुहमा विभाजित छ ।
आधिकारिकताको दाबी गर्दैै दाहाल–नेपाल समुहले आयोगमा निवेदन दर्ता गरेपनि आयोगले कुनै निर्णय गरेको छैन ।
सर्वाेच्च अदालतले भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्