
सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ ।
बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।
राष्ट्रिय गौरवको आयोजना रूपमा निर्माण गर्न लागिएको यस परियोजना सिँचाईमा केन्द्रित भए पनि डाइभर्सन गरेर मरिनमा खसालिएको पानीबाट २९ मेगावाट बिजुली पनि उत्पादन गरिने छ ।
२ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेटमा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्याएर कृषि उत्पादन बढाउने उद्देश्य लिइएको आयोजनाको कूल लागत ४६ अर्ब लाग्नेछ ।
आयोजनामा तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी मरिनमा खसालिने छ । यसका लागि १३ किलोमिटरको सुरुङ बनाउनुपर्ने हुन्छ ।
मरिनमा खसालिएको पानी ४० किलोमिटर तल वाग्मती सिँचाई आयोजनाको नहरमार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याइने योजना सरकारको छ ।
प्रतिक्रिया दिनुहोस्