
काठमाडौं, फागुन २० । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ ।
यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो ।
पछिल्लो केहि दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सिमित भएको छ ।
धेरै कमाउनेमा आज पनि चन्दांगिरी हिल्स कम्पनीकै लगानीकर्ताहरु देखिएका छन् ।
केहि दिन यता यस कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ ।
बिहीबार १० प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर चन्द्रागिरीको सेयर मूल्य ६ सय ५ रुपैयाँ पुगेको छ ।
दोस्रोमा लिबर्टी इनर्जी र तेस्रोमा सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको नेप्सेले जनाएको छ ।
बिहीबार धेरै घट्ने सूचीको शिर्ष स्थानमा म्युचुअल फण्ड तथा डिबेञ्चर देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्