
काठमाडौं, असोज १ । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गर्दै आएको प्रतिनिधिसभा बैठकको अवरोध हटाएको हो ।
संसद बैठक शुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नलाई करबाही गर्न सरकारी प्रतिवद्धता मागेका थिए । उनले किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएकोमा ध्यानाकर्षण गराए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै बडूले भने, ‘घटनाको सही छानविन होस्, दोषीहरुमाथि कारबाही होस् । हामी सरकारको जवाफ चाहन्छौं ।’
लगत्तै कानूनमन्त्री भानुभक्त ढकालले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता दोहोर्याउँदै गृहमन्त्री स्वयंले पनि यसबारे प्रष्ट गरिसकेको बताए । उनले शीर्ष नेताहरुबीचको बैठकमा प्रधानमन्त्री केपी ओलीले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको पनि उल्लेख गरे । उनले दोषीलाई कानुनी दायरामा ल्याइने विश्वास दिलाउँदै गल्ती नगरेका नफस्ने र गल्ती गरेरकाहरु नउम्कने दावी गरे ।
कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खजुरा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।
उक्त घटनामा सोही गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको हात रहेको भन्दै भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको छ भने संसद पनि अवरुद्ध गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्