७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव


0
Shares

काठमाडौं, असोज १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव दिइएको छ । निगमको सुधारका लागि सुझाव दिन गठित समितिले निगमको दीर्घकालीन सुधारका लागि ४९ प्रतिशत शेयर निजीकरण गर्न सुझाव दिएको हो ।

पूर्वपर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको टोलीले निगमको संस्थागत सुधारका लागि २ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको संस्था बनाउन पनि सुझाव दिएको छ । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ खर्ब रुपैयाँ हुनुपर्ने भनिएको छ ।

सार्वजनिक निजी साझेदारीमा कम्पनी चलाउन सुझाव दिँदै समितिले नयाँ बन्ने कम्पनीमा नेपाल सरकार (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बीमा संस्थान तथा अन्य सार्वजनिक संस्थानसमेत)को ५१ प्रतिशत शेयर स्वामित्व रहने गरी संरचना बनाउन भनेको छ ।

विदेशी साझेदार वा नेपाली लगानीकर्तालाई ३५ प्रतिशत, नेपाल एयरलाइन्सका वर्तमान तथा भूतपूर्व पदाधिकारी र कर्मचारीहरुको १.५ प्रतिशत शेयर रहने प्रस्ताव गरिएको छ । यस्तै निजामती सेवा तथा नेपाल सरकारको पूर्ण स्वामित्व भएका सार्वनजनिक संस्थाका कर्मचारीहरुको १.५ प्रतिशत, पर्यटन व्यवसायी संस्था वा पर्यटन व्यवसायीको ६ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको ५ प्रतिशत शेयर रहने व्यवस्था गर्न पनि भनिएको छ ।

वायुसेवा निगमको गिरेको साख सुधार्न तत्काल १३ वटा काम गर्नुपर्ने सुझाव पनि कार्यदलको छ ।

जसमा वित्तीय, व्यवस्थापकीय, संस्थागत पुनर्संरचना, गन्तव्यको विश्लेषण, विमान तथा उडान व्यवस्थापन, बजार व्यवस्थापन, मानव स्रोत व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधि, सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन, नेपाल फाइनान्सियल रिपोर्टिङ, कार्यसम्पादन सूचक स्थापित गर्ने, संस्थागत सुशासन र गोपनीयतामा सुधार एवं आन्तरिक नियन्त्रण प्रणाली चुस्त बनाउन भनिएको छ ।