१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अन्यौलमा, अनिर्णत कांग्रेसतिर दाहाल नेकपाको नजर


0
Shares

parliament meeting and congress decission

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतबाट पुनर्जिवित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास सफल नहुने भएको छ ।

नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध आज बस्ने बैठकमै अविश्वास प्रस्ताव ल्याउन खोजेपनि नेपाली कांग्रेसले निर्णय नदिँदा अन्यौल भएको हो ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव ल्याउने चेतावनी बारम्बार दाहाल–नेपाल पक्षले दिइरहेको भए पनि त्यो सम्भावना टरेको हो ।

संसद सचिवालयबाट परिवर्तित कार्यसूची अनुसार पनि अब आइतबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने छैन ।

खासगरी दाहाल–नेपाल नेकपा, कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सघाउनेमा विश्वस्त थिए । तर संसद बैठक बस्नु अगाडी त्यस्तो सम्भावना नदेखिएपछि आजको बैठकमा यससम्बन्धि कार्यसूची नराख्न दाहाल–नेपाल पक्षले सभामुखलाई सुझाएको बताइएको छ ।

आफूपक्षीय नेताहरुसँगको छलफलपछि सभामुख अग्नि सापकोटासँग पुष्पकमल दाहाल–माधव नेपाललगायत नेताहरुले छलफल गर्नुभएको थियो ।

नेपाली कांग्रेसमा ओलीलाई हटाउने भन्नेमा एकमत देखिए पनि तत्काल देउवालाई प्रधानमन्त्री बनाउनेमा सहमति बनेको छैन । खासगरी आगामी भदौंमा सम्पन्न हुने महाधिवेशनअघि देउवालाई प्रधानमन्त्री बनाउँदा महाधिवेशन प्रभावित गर्नसक्ने भय रामचन्द्र पौडेल पक्षधरहरुमा भएकाले कांग्रेस निर्णयमा नपुगेको हो ।

पौडेल पक्ष तत्काल दाहाललाई प्रधानमन्त्री बनाउन र एक वर्षपछि चुनावी सरकारको नेतृत्व देउवालाई दिने गरी सहमति गर्न तयार देखिन्छ ।

यही अन्यौलका कारण प्रधानमन्त्री ओलीलाई आफूविरुद्ध आउने अविश्वासको प्रस्तावलाई निरस्त्र गर्ने रणनीति बनाउन मौका पनि मिल्दै गएको छ ।

अर्कातिर कांग्रेसमा नेकपा कानुनी रुपमा दुई टुक्रामा विभाजित नहुँदासम्म कुनै एउटा पक्षलाई साथ दिन नहुने भन्नेहरुको मत बढी रहेको छ ।

नेकपा दाहाल–नेपाल पक्ष भने अविश्वास प्रस्ताव राख्दा नै कांग्रेस नेता देउवाको नाम भावी प्रधानमन्त्रीका रुपमा राख्न सहमत देखिएका छन् ।