
काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।
अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
पुनस्स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल(नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए ।
कांग्रेसको विरोधकाबीच अध्यादेश पेस गरिएको थियो ।
तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो ।
सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक २६ गतेका लागि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्