१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह


13
Shares

काठमाडौं, फगुन २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताउनुभएको हो ।

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाईदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताउनुभयो ।

धरहरा बनाउने क्रममा सबै भन्दा बढी गाली आफुले खाएको भन्दै उहाँले महानगर एकाध समुहको विरोध र नाराबाजी नअल्झेर योजनावद्ध ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ आफ्नै स्थानबाट जिम्मेबार रहेर दायित्वबोध गर्न पनि आग्रह गर्नुभयो ।

मेयर शाक्यले व्यवसायीको हकहित तथा व्यवसायीक वातावरण निर्माणका लागि महानगरपालिका सधै लागिपरिरहने प्रतिवद्धता पनि जनाउनुभयो ।