
काठमाडौं, फागुन २५ । संवैधानिक परिषद्सम्बन्धि अध्यादेश विरुद्ध संघीय संसद सचिवालयमा नेकपा एमाले बाहेकका दलहरुले विरोधको सूचना दर्ता गरेका छन् ।
प्रतिनिधिसभामा टेबुल भएको ‘संवैधानिक परिषद् (कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश” विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र सत्तारुढ दलको घटक माओवादी केन्द्रले संसद सचिवालयमा विरोधको सूचना दर्ता गरेका हुन् ।
अध्यादेशमा गरिएका प्रावधान संविधानको भावना विपरित र संविधानसँग बाझिएकाले स्वतः खारेज हुनुपर्ने माग गरिएको छ ।
सर्वोच्च अदालतको फैसलाले पूर्वस्थापना भएको प्रतिनिधिसभाको फागुन २३ गते बसेको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विरोध र बहिस्कारकाबीच उक्त अध्यादेश टेबुल गर्नुभएको थियो ।
उक्त अध्यादेशविरुद्ध एमाले बाहेकका दलहरुले विरोधको सूचना संघीय संसद सचिवालयमा दर्ता गराएका हुन् ।
विरोधको सूचना दर्ता गराउनेमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसदहरु सन्त थारु, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेत तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्