३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सेनालाई स्वार्थका लागि अनावश्यक विवादमा तान्ने गरिएको छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि समय-समयमा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासप्रति सजग र सतर्क रहन आग्रह गर्नुभयो ।

सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।

विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ ।

राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उहाँले सुरक्षा,सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताउनुभयो ।

नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपुर्ण योगदान र गौरवपुर्ण इतिहास रहेको तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै उहाँले नेपाली सेनाको प्रसंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताउनुभयो ।