
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी ओलीले नेकपा विवादका क्रममा आफूलाई साथ दिन आएका पूर्वमाओवादी नेता रामबहादुर थापालगायतलाई एमालेमा सम्मानजनक स्थान दिने हुनुभएको छ ।
जसअनुसार गृहमन्त्रीसमेत रहनुभएका थापालाई एमालेको उपाध्यक्ष बनाउने तयारी ओलीले गर्नुभएको दाबी गरिएको छ ।
नेकपा एमालेमा पाँच उपाध्यक्ष मध्ये एक पद रिक्त रहेकाले सोही स्थानमा थापालाई मनोनयन गर्ने तयारी ओलीले गर्नुभएको हो । तत्कालीन एमालेमा वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उपाध्यक्ष रहेकामा भण्डारी राष्ट्रपति हुनुभएकाले एक पद रिक्त रहेको हो ।
एमाले उपमहासचिव बिष्णु पौडेलका अनुसार आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला कम्युनिष्ट आन्दोलनलाई सघाउन तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभामा रहेकाहरुलाई उचित सम्मान दिइने प्रतिक्रिया दिनुभयो ।
प्रतिनिधि सभा विघटन गर्ने कदममा साथ दिने थापासहित, पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई ओलीले मन्त्री पद दिनुभएको छ ।
उता,संसद विघटन गर्ने ओलीको कदमविरुद्ध तत्कालीन नेकपामा पुष्पकमल दाहालसँग लाग्नुभएका माधव नेपाल र झलनाथ खनालले भने आफूपक्षीय केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल थाल्नुभएको छ ।
बदलिँदो परिस्थितिमा कसरी अगाडी बढ्ने भन्ने विषयमा उहाँहरुले छलफल केन्द्रित गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्