
काठमाडौं, फागुन २६ । छोराको हत्यारालाई कार्वाहीको माग गर्दै ८० दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीलाई न्याय प्रदान गर्न सरकारले चासो नदिएकामा मानअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
आफ्ना १६ वर्षे छोरा कृष्णप्रसाद अधिकारीको २०६१ सालमा माओवादीले निर्ममतापूर्वक हत्या गरेपछि न्यायका लागि निरन्तर संघर्षरत अधिकारी पछिल्लो पटक ८० दिनदेखि आमरण अनशनमा हुनुहुन्छ ।
१६ वर्ष अगाडी चितवनको बकुलरमा तात्कालीन माओवादीले हत्या गरेको छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दा अनेकन हण्डर ब्यहोर्नुभएका गंगामाया अधिकारीका पति नन्दप्रसाद आमरण अनशनकै क्रममा वीर अस्पतालमा देहत्याग गर्नुभएको थियो ।
३३४ दिन लामो अनशनपछि प्राण त्याग्नुभएका उहाँको शव टिचिङ अस्पतालमा वर्षौदेखि त्यत्तिकै थन्क्याएर राखिएको छ भने आफ्नो संस्कार अनुरुप सत्गत गर्ने अधिकारबाट समेत बन्चित पारिएको छ ।
सत्याग्रही गंगामाया अधिकारीमाथि तत्कालीन माओवादीका नेता प्रचण्ड–बाबुराम भट्टराईदेखि पटक पटक बनेका सरकारहरुले समेत न्याय नदिएकामा अधिकारकर्मीहरुले आपत्ति प्रकट गरेका हुन् ।

उनीहरुले गंगामायालाई न्याय नदिए त्यसको दूरगामी परिणाम ब्यहोर्न चेतावनी पनि दिएका छन् । मानवअधिकारवादी प्रा. कपिल श्रेष्ठ, चरण प्रसाई, डा. केदारनरसिंह केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओम अर्याल, इन्द्र अर्याल, राजन कुईंकेल, बद्री भुषाल, सावित्री श्रेष्ठ,कल्याण पोखरेललगायतले एक विज्ञप्ति निकाली गंगामायालाई तत्काल न्याय दिन माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्