२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकार गठनको पहल थाल्न देउवालाई पौडेल समूहको अनुमति


0
Shares

Deuba-poudel

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसमा परिवर्तित सन्दर्भमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडी बढाउन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सघाउने भएको छ ।

आज (शुक्रबार) विहान पार्टी महामन्त्री शशांक कोइराला निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकमा आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास थाल्न सभापति देउवालाई आग्रह गर्ने निष्कर्ष निकालिएको हो ।

बैठकमा सहभागि कांग्रेस पूर्वपदाधिकारीले ईमेज खबरसँग भन्नुभयो, ‘मुलुकमा कम्युनिष्टहरुको असफलताले व्यवस्था नै विफल हुने सन्देश गएकाले अब कांग्रेस चूप बस्न नहुने निष्कर्ष निकालिएको हो ।’

व्यव्स्थाविरुद्ध नै चलखेल गर्न थालिएकोले त्यसलाई रोक्न र लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेस नेतृत्वमा सरकार बनाउनुको विकल्प नभएको निचोड बैठकमा निकालिएको उहाँको भनाइ थियो ।

सरकार गठनमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवासँग हुने पदाधिकारी बैठकमा आप्mनो समूहको यही निष्कर्ष राख्ने ती नेताको भनाइ छ ।

यसअघि पौडेल समूह, कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने पक्षमा उभिएको थियो । पार्टी सरकार बनाउने दौडमा लाग्नुभन्दा महाधिवेशन सम्पन्न गर्ने र चाँडो निर्वाचनमा जानुपर्ने पक्षमा उक्त समूहका नेताहरुले मत राख्दै आएका थिए ।

अदालतको निर्णयबाट नेकपा खारेजीसँग एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओली जसपाको सहयोगमा सरकार टिकाउन लागिपरिरहेका सन्दर्भमा कांग्रेस आफै पनि सरकार निर्माणको होडमा देखिन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउँदै ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने प्रस्ताव नै राखिसक्नुभएको छ ।

कांग्रेसले निर्णय नलिँदा दाहालको प्रस्तावमा छलफल अघि बढेको थिएन । जसपाले भने प्रधानमन्त्री ओली र कांग्रेस–माओवादी केन्द्रसँग समानान्तर छलफल चलाइरहेको छ ।