
काठमाडौं, फागुन २८ । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षमाथि कार्वाहीको डण्डा चलाउनुभएको छ ।
माधव–झलनाथ पक्षलाई खबर नै नगरी शुक्रवार दुई पटक बसेको ओली पक्षीय बैठकले पार्टीमा माधव नेपालसहित उहाँपक्षीय नेताहरुको साबिक जिम्मेवारी खोसेको हो ।
२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक चैत्र १ मा बोलाइए पनि त्यसअघि नै आफूपक्षीय केही नेताको बैठक गरेर ओलीले नेपाल पक्षका नेतालाई पदाधिकारी र अरु जिम्मेवारीबाट बिमुख बनाउनु भएको हो ।
ओलीले पार्टीमा अध्यक्ष र महासचिव मात्र रहने गरी अरु सबै पदाधिकारी हटाउँदै आगामी मंसिरमा महाधिवेशन गर्ने मितिसमेत तोक्नुभएको छ ।
पार्टीलाई ओलीलाई टक्कर दिइरहनुभएका नेता माधव नेपाललाई विदेश विभाग प्रमुखबाट हटाएर उक्त जिम्मेवारीमा डा. राजन भट्टराईलाई तोकिएको छ । कार्वाहीको सिलसिला यत्तिमै रोकिएको छैन ।
शुक्रबार गरिएको निर्णयअनुसार, प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर मणि थापा र सुदूरपश्चिममा प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको एक नेताले जानकारी दिए ।
आफूनिकट नेता इन्चार्ज रहेका प्रदेशहरुमा भने जिम्मेवारी यथावत तोकिएको छ । जसअनुसार प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै हुनुहुन्छ ।
असार २०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट ओली एमालेको अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिनु भएको थियो ।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा भने ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेललाई महासचिव बनाइएको थियो ।
५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ओली र दाहाल पक्षमा विभाजित नेकपामा नेपाल–खनाल दाहाल पक्षतिर लाग्नुभएको थियो । तर २३ फागुनमा सर्वोच्चले ओली–दाहाल अध्यक्ष रहेको नेकपाको नाम अर्को दलसँग जुधेको भन्दै खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला गरेको थियो ।
यस्तोमा नेपाल–खनाल पक्षले पूर्ववत एमालेमै फर्कने निर्णय गरेका थिए । तर केन्द्रीय कमिटी बस्ने सम्मुखमा ओलीले नेपाल पक्षमाथि कार्वाहीको डण्डा चलाउँदै जिम्मेवारी बिमुख बनाइदिनुभएको हो ।
आजको निर्णय अनुसार एमालेमा पदाधिकारीका रुपमा अब अध्यक्ष ओली र महासचिव इश्वर पोखरेल मात्र रहनु हुनेछ भने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्