
काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफुहरुको मुख्य ध्येय रहेको बताउनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेट पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
सर्वोच्च अदालतको फैसलासंगै नेकपाले संसदमा सरकार चलाउने माण्डेट गुमाएको उहाँको टिप्पणी छ ।
कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्