
काठमाडौं, चैत १ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी टिम र मालिकको घोषणा भएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै टिम र मालिकको घोषणा गरेको हो ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
टिम मालिकमा विराटनगरका अनुप रन्जन भट्टराई, काठमाडौंका चिरन्जिबी शाह, ललितपुरकी कामना गुरुङ, चितवनका चन्द्र ढकाल, पोखराका निराकार श्रेष्ठ, बुटवलका राजकुमार तिमल्सिना र धनगढीका सुवास शाही रहेका छन् ।
मालिकहरुले एनएसएलमा शहरको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा उत्साही भएको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले फ्रेन्चाइज लिगको अवधारणाले फुटबलको नयाँ अध्याय सुरुआत भएको प्रतिक्रिया दिनुभयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने लिग बैशाख ११ देखि २५ गतेसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा राउण्ड रोबिनको आधारमा हुनेछ ।
टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ ।
अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।
लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्