१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बस्न्यातको परोपकारी साइकल यात्रा काठमाडौंदेखि डडेल्धुरासम्म


0
Shares

काठमाडौं, चैत २ । ‘पेडल फर एजुकेशन’ स्लोगनका साथ शुरु भएको परोपकारी साइकल यात्राको तेस्रो दिन साइकल यात्री देवेन्द्र बस्न्यातले काठमाडौंदेखि हेटौंडाको यात्रा थाल्नुभएको छ ।

परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले सोमबार बिहान नक्साल नारायणचौरमा आयोजना गरेको एक विशेष कार्यक्रममा समाजसेवी साइकल यात्री बस्न्यातलाई नेपाली कांग्रेसका सांसद गगनकुमार थापा, पूर्व मन्त्री शंकर कोइराला, कलाकारहरू हरिवंश आचार्य र विजय लामा लगायतले शुभकामनासहित बिदाइ गर्नुभयो ।

गत फागुन २८ गते वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट आशीर्वचन लिई २९ गते दोलखाबाट बस्न्यातले साइकल यात्रा थाल्नुभएको थियो । सोही दिन धुलिखेल आइपुगेका उहाँ चैत १ मा काठमाडौं आइपुग्नु भएको थियो ।

काठमाडौंदेखि हेटौँडा हुँदै चितवन, बुटवल, लालमटिया, कोहलपुर, चिसापानी, धनगढी, डडेलधुराहुँदै चैत ११ गते बस्न्यात दिपायल पुग्ने कार्यक्रम रहेको छ ।

हेल्प नेपाल नेटवर्कद्वारा निर्माणाधीन दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालय तथा डडेलधुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि सहयोग जुटाउन दोलखादेखि दिपालयलसम्मको एक हजार दुई सय किलोमिटरको साहसिक साइकल यात्रा साइकल यात्री देवेन्द्र बस्न्यातले थाल्नुभएको हो ।

साइकल यात्री देवेन्द्र बस्न्यातले प्रतिकिलोमिटर १ रुपैयाँका दरले सहयोग गर्न आग्रह गर्दै यस साइकल यात्राले राम्रो सहयोग जुटाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा सांसद थापाले यस्ता कार्यले परोपकारको भावना आम मानिसमा जागृत हुँदै जाने विश्वास व्यक्त गर्दै हेल्प नेपालले गर्दै आएको यस किसिमको कार्यको प्रशंसा गर्नुभयो ।

उहाँले सहयोग रकम प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा हरिवंश आचार्य, विजय लामा, राधा घलेलगायतले सहयोग रकम प्रदान गर्नुभएको थियो ।