
काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए फेरि पनि संसद विघटन हुने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन पनि सही भएको भन्दै अब पनि सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभए विघटन गरेर चुनावमा जानुको विकल्प नरहने बताउनु भएको हो ।
वैठकमा सहभागी नेताहरुका अनुसार सरकार र संसद् चल्ने अवस्था नरहेपछि आफूले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेको जिकीर प्रधानमन्त्री ओलीको थियो ।
संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्दै उहाँले सरकार र संसद नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्वाचन घोषणालाई प्रतिगमन भनेकोमा पनि असन्तुष्टि ब्यक्त गर्नुभएको जनाइएको छ ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको भन्दै सरकारकाले गरेको सिफारिस कार्यान्वयन मात्रै गरेको र आफ्नो निर्णयबाट कुनै काम नगरेको बताउनु भएको थियो ।
वैठकपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने समसामयिक विषयमा छलफल भएको बताउनुभयो ।
वैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरु सहभागी थिए ।
पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराइ भने वैठकमा गएनन् ।
प्रतिक्रिया दिनुहोस्