
काठमाडौं, चैत ३ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाहमा सुधार आएको छ ।
यस अवधिमा विप्रेषण आप्रवाह १० दशमलव ९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ७ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने झण्डै ७६ प्रतिशतले घटेको देखिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१ दशमलव ७ प्रतिशतले बढेको थियो ।
यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६७ दशमलव ४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा थियो ।
राष्ट्र बैकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो ।
यसैगरि समिक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ ।
यस्तै चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ० दशमलव ७ प्रतिशतले घटेर ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ३ प्रतिशतले घटेको थियो ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
वार्षिक विन्दुगत उपभोक्त मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको नेपाल राष्ट्र बैकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्