
काठमाडौं, चैत ३ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले बि एण्ड सि अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताउनुभएको छ ।
काठमाण्डौमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाउनुभयो ।
झापाको बि एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको उहाँले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको आरोप डाक्टर केसीले लगाउनुभयो ।
डाक्टर केसीले प्रधानमन्त्री लगायत काठमाण्डौ विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गर्नुभएको छ ।
चिकित्सा क्षेत्रको सुधारको लागि पटक पटक अनसन बस्दै आउनुभएको डाक्टर केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरी अनसन बस्ने चेतावनी पनि दिनुभयो ।
पत्रकार सम्मेलनमा अनसन बस्ने दिन र समय भने बताईएको छैन ।
प्रतिक्रिया दिनुहोस्