२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओलीमा व्यक्तिवादी र तानाशाही प्रवृत्ति हावी छ : नेपाल


0
Shares

काठमाडौं, चैत ४ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अहिलेको राजनीतिक परिस्थितिको जिम्मेवार प्रधानमन्त्री केपी ओली भएको बताउनु भएको छ ।

नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टीभित्र गुटबन्दीको सुरुवात गरेको आरोप लगाउनुभयो ।

नेता नेपालले अध्यक्ष ओलीमा आफू नै राष्ट्र हुँ भन्ने व्यक्तिवादी र तानाशाही प्रवृत्ति हावी रहेको उल्लेख गर्नुभयो ।

उहाँले ओलीले विदेशी तत्वहरूको सेवा गरेको आरोप लगाउनुभयो । उहाँले ओली पार्टी अध्यक्ष भएपछि आफूहरु पीडित भएको गुनासो गर्दै पार्टीको बैठक बोलाइदिनु प¥यो भनेर अनुनय विनय गर्दा पनि त्यसको सुनुवाई नभएको बताउनुभयो ।

नेता नेपालले आफूहरुको लडाईं पदको लागि नभएर सिद्धान्त, नीति, विधि र पार्टी निर्माणको लडाइँ भएको बताउनुभयो । उहाँले ओलीले टिकट वितरण, नियुक्ती, कार्यविभाजन र कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह राख्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले प्रचार विभाग प्रमुख योगश भट्टराईको नक्कली हस्ताक्षर प्रयोग गरी सूचना जारी गरि भ्रम फैलाउने काम गरेको बताउनुभयो । केही समय अघि अध्यक्ष ओलीले साइबर सेना गठन गर्नुभएको थियो ।

त्यसैलाई व्यंग्य गर्दै नेता नेपालले साइबर स्यालको संज्ञा दिनुभएको हो ।