
काठमाडौं, चैत ६ । कोरोना रोकथाम र खोप अभियानका लागि विश्व बैंकले नेपाललाई ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ दिने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपको समतामूलक वितरणमा सघाउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।
यस सहयोगमार्फत् समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा विश्व बैंकको छ ।
कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउन यो कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण भएको मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले उल्लेख गर्नुभएको छ ।
सहयोगको ९० प्रतिशत रकम कोभिड–१९का खोप खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्याबाहेकका अरु समूहमा खोप विस्तार गर्न परिचालित गरिने विश्व बैंकले जनाएको छ ।
बाँकी रकम भने कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड–१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षण, प्रयोगशाला उपकरण र चिकित्सकीय सामग्री खरिद गर्न मद्दत पुर्याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने पनि विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्