
पोखरा, चैत ६ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनु भएको छ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दे उहाँले ओली नैतिक रुपमा पतन भएको बताउनुभयो ।
ओलीको चरित्र र अहंकारकै कारण मुलुक संकटमा परेको थापाको भनाइ थियो ।
ओलीले अयोग्यताका कारण सरकार सञ्चालन गर्न नसकेको भन्दै उहाँले आफूले विघटन गरेको संसद पुनःस्थापना हुँदासमेत प्रधानमन्त्रीको कुर्सी नछाडेर विश्वसामु नेपाललाई बद्नाम गराएको आरोप लगाउनुभयो ।
नेता थापाले नेपाल कम्युनिष्ट पार्टी खारेज भएपछि नेपाल कम्युनिष्ट पार्टीको नाममा भएको निर्वाचनबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिने जिकिर गर्नुभयो ।
नेता थापाले मुलुकको विकासका लागि कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्दासमेत सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो ।
कम्युनिष्टले जस्तो चरित्र कांग्रेसले नदेखाउने भन्दै उहाँले प्रधानमन्त्री ओलीले राजीनामा गरेर नयाँ सरकार निर्माण गर्न मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्