१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


होली पर्व सुरु, वसन्तपुरमा चीर गाडियो


0
Shares

काठमाडौं, चैत ८ । रंगहरुको पर्व होली आइतबारदेखि सुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा चीर ठड्याएसँगै यो वर्षको होली पर्व विधिवत रुपमा सुरु भएको हो ।

चीर ठड्याएसँगै हनुमान ढोका दरबार क्षेत्रमा गुरुजुको पल्टनले तोप पड्काएर हर्षबढाइँ गरी अबिर छर्किई होली पर्वको स्वागत गरेको छ ।

पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ  ।

अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

यस वर्ष काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा चैत १५ गते पूर्णिमाका दिन र तराई क्षेत्रमा त्यसको भोलिपल्ट १६ गते होली पर्व मनाइने छ ।

पौराणिक कथनअनुसार हिरण्यकसिपुले आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए  ।

तर आगोले विष्णुका भक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भस्म भइन् ।

यसरी होलिकारूपी पापवृत्ति जलेर भस्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको प्रतीक चीरदाह गरेसँगै होली पर्व समापन हुनेछ ।