१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एएफसी कपको प्रारम्भिक चरणमा आर्मीले श्रीलंका पुलिस एससीसँग खेल्ने


0
Shares

काठमाडौं, चैत ८ । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप सन् २०२१ को प्रारम्भिक चरणमा श्रीलंका पुलिस एससीसँग खेल्ने भएको छ ।

एसियाली फुटबल महासंघ एएफसीका अनुसार प्रारम्भिक चरणको खेल चैत २५ गते घरेलु दशरथ रंगशालामा हुने भएको हो ।

एएफसी कप एसियाली फुटबल महासंघले आयोजना गर्ने एएफसी च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता हो ।

पहिलो चरणमा जित हात पारे आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ ।

सो खेल भने भारतमा हुनेछ । सो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ ।

प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ ।

दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बसुुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ । दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ ।

गत वर्षको ए डिभिजन लिगमा दोस्रो स्थान हासिल गरेको आर्मीले एएफसीका न्यूनतम आवश्यकता पूरा गरेपछि लाइसेन्स पाएको हो ।