१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसदहरुद्धारा बजेट विनियोजनका विषयमा अर्थमन्त्रालयसँग छलफल


0
Shares

काठमाडौं, चैत ८ । सांसदहरुले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनको आधार तथा योजनाबारे अर्थमन्त्रालयसँग छलफल गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको अर्थसमितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजेट बाँडफाँड र योजना तर्जुमामा विगतमा जस्तै पुरानै समस्या अहिले पनि रहेको भन्दै त्यसबारे छलफल गर्न सुझाएका हुन् ।

उनीहरुले बजेट प्रणालीलाई बलियो बनाउने गरि भिन्न अभ्यासको सुरुवात नगर्ने हो भने विगतमा जस्तै समस्या यसपटक पनि देखिने भन्दै तत्काल सो बारे आवश्यक जानकारी मन्त्रालयसंग माग्नुपर्ने धारणा राखे ।

केही समिति सांसदहरुले बजेट पुर्व सातै प्रदेशमा स्थलगत अध्ययन भ्रमण गरि बजेट बाँडफाँड र योजना तर्जुमामा सरकारलाई सुझाव दिनुपर्ने तर्क पनि गरेका थिए ।

पूर्वअर्थमन्त्री बाबुराम भट्टराईले बजेट निर्माणको अन्तिम समयमा सुझाव दिएर त्यसको खास प्रभाव नदेखिने भएकाले बजेट बाँडफाँडमा अबलम्बन गरिने राष्ट्रिय नीति र योजनाको संरचनामा छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले स्थलगत भ्रमण गर्नु राम्रो कुरा भएपनि बेलैमा सुझाव दिनुपर्ने तर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभयो ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले नै बजेट प्रणालीलाई कमजोर बनाएको बताउनुभयो ।

उहाँले बजेट बाँडफाँडको अधिकार लिएका मान्छेबाट नै त्यसलाई कमजोर बनाउने काम भएको टिप्पणी गर्नुभयो ।

सबैलाई छर्ने ढंगले सरकारले बजेट ल्याउने गरेकाले बजेट वाँडफाँड तथा योजना प्राथमिकिकरणमा सधै समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

केही सांसदहरुले भने क्षेत्रगत आवश्यकता र योजनाको प्राथमिकीकरण गर्नका लागि भौगोलिकता र क्षेत्रिय बनौट अनुसार प्राथमिकता दिनुपर्ने विषयलाई पुर्व तयारी गरेर अध्ययन भ्रमणमा जानुपर्ने सुझाव दिएका छन् ।