२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


बंगलादेशमा प्रधानमन्त्री हसिनाको हत्या प्रयास गरेको भन्दै १४ जनालाई मृत्युदण्डको फैसला


0
Shares

एजेन्सी, चैत ११ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका भन्दै १४ इस्लामिक लडाकुलाई मृत्युदण्ड दिइने भएको छ ।

बंगलादेशको विशेष अदालतले सजायँ सुनाएका १४ मध्ये नौजना बंगलादेशको जेलमा छन् भने बाँकी पाँच जना फरार छन् ।

विशेष अदालतका न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जनै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको भन्दै उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामिक संगठनका लडाकु रहेको उल्लेख गर्नुभयो ।

सन् २००० मा हसिनाको हत्या प्रयासमा एक बम आक्रमण गरिएको थियो । हसिनाले धर्मनिरपेक्षताको नीति लिएको भन्दै त्यसको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले आक्रमण गरेको हो ।

हसिनाले भाषण गर्ने कलेजमा चरमपन्थीहरुले राखेको दुई बम सुरक्षाकर्मीको डिभाइसले पहिचान गरेकाले उप्रिय घटना हुन पाएको थिएन ।

सन् २०१८ मा अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेसँगै हसिना चौथौ पटक प्रधानमन्त्रीको कार्यकालमा हुनुहुन्छ ।