१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारत–बिहार विधानसभा बैठकमा बर्बरता, सांसदलाई प्रहरीले वर्षायो लात्ती र मुक्का


0
Shares

काठमाडौं, चैत ११ । भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् ।

सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा चर्को विरोध गर्न थालेपछि सुरक्षाकर्मी प्रयोग गरी उनीहरुलाई बर्बरतापूर्वक कुटपिट गरिएको विपक्षी नेता तेजस्वी यादवले जनाएका छन् ।

विपक्षी सांसदको नाराबाजी नियन्त्रण गर्न बोलाइएका प्रहरीले सांसदमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । एक भिडियोमा प्रहरीले सांसदहरुलाई लात्ती र मुक्का वर्षाएको देखिन्छ । घटनामा दुई महिलासहित १२ सांसद घाइते भएका छन् ।

त्यसक्रममा केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएका छन् । नयाँ प्रहरी विधेयकले नागरिक असुरक्षित बन्ने भनी नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रति खोसेर च्यातेपछि प्रहरी बोलाएर दमन गरिएको हो ।

सदनभित्र प्रहरीलाई बोलाइएपछि आक्रोशित सांसदहरुले नाराबाजी चर्काउन थालेपछि प्रहरीले लात्ती र मुक्की बर्षाउन थालेको थियो । प्रहरीले केही सांसदलाई त घिसार्दै बाहिर निकालेको थियो । प्रहरीले सासंदको कपाल लुछेको र लात्ताले हानेको फोटो र भिडिओ सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।

सत्तापक्ष र विपक्षबीचको मारामारीकै बीच नितिश कुमार सरकारले सशस्त्र प्रहरी विधेयक २०२१ विधानसभाबाट पारित भएको छ । नयाँ कानुनमा अदालतको वारेन्ट विना नै शंकाको आधारमा जो कोहीलाई पक्रेर जेल हाल्न सक्ने अधिकार प्रहरीलाई दिएपछि विपक्षीले आपत्ति जनाएका थिए ।

विधान सभामा हंगामा मच्चनुअघि सडकमा राष्ट्रिय जनता दलका नेता र प्रहरीबीच पनि हिंसात्मक झडप भएको थियो ।

विपक्षी राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी यादवले मंगलबार कालो दिन भएको टिप्पणी गरेका छन् ।