१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक स्थलमा होली खेल्ने र मास्क नलगाउनेलाई कारवाही गर्ने


0
Shares

काठमाडौं, चैत ११ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।

कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गर्नुभएको छ ।