
काठमाडौं, चैत १५ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरेका छन् ।
काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गतेयता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।
उनीहरुले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउन सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म फोहोर बोकेका गाडी प्रवेश गर्न नदिने बताएका हुन् ।
ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोर बिसर्जन गर्न नदिने बताउनुभयो ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुङ्गानाले आफूहरुको माग एक दुई दिनमा पुरा नभए सबै विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिनुभयो ।
विरोधमा उत्रिएका स्थानीयले ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दा समेत पुरा नभएको गुनासो गरेका छन् ।
प्रभावित क्षेत्रका स्थानीयले सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्