
दिपेन्द्र अधिकारी
काठमाडौं, चैत १५ । पछिल्लो तीन महिनामा काठमाडौं उपत्यका दुई पटक विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेको छ ।
गत पुस २० गते र यही चैत १३ गते उपत्यकाको वायु प्रदुषण विश्वमै पहिलो स्थानमा परेको हो ।
यो अवस्थाबाट पाठ नसिक्ने हो भने वायु प्रदुषणले भयावह रुप नलेला भन्न सकिंदैन ।
गत पुष २० गते काठमाडौंको एक्युआई अर्थात एअर कण्डिशन इन्डेक्स ४८७ पुगेको थियो भने चैत १३ गते पनि एअर कण्डिशन इन्डेक्स ४४६ पुगेर वायु प्रदुषणको हिसाबले विश्वकै पहिलो शहर बन्न पुग्यो ।
सुख्खा याम सुरु भएसँगै ५६ जिल्लाका ५२३ ठाउँमा डढेलो लाग्नु तथा भारतको उत्तर प्रदेश र हरियाणा लगायतका क्षेत्रमा बढेको प्रदुषणको प्रभाव नेपालमा समेत पर्दा यस्तो अवस्था आएको वातावरणविद्को भनाइ छ ।
मध्य फागुनदेखि सुरु हुने प्रि मनशुन पनि अझै देखिएको छैन । चैत महिनामा चल्ने हावाहुरी पनि यस पटक ठप्प रहेको छ । जसका कारण वायु प्रदुषण बढेको मौसमविद् वरुण पौडेल बताउनुहुन्छ ।
केही दिन यता उपत्यकाको वातावरण ढाकेको तुँवालो चैत १६ गतेदेखि केही कम हुने भए पनि प्रि मनसुन सक्रिय भएर ठूलो पानी नपरेसम्म पूरै फार्न मुश्किल हुने छ ।
जलवायु परिवर्तनले वातावरणमा पारेको असरले गर्दा प्राकृतिक विपत्ति बढिरहेको छ ।
यस वर्ष हिउँमा कम वर्षा भएको कारणले वातावरण सुख्खा बनेको छ ।
अहिलेको अवस्थालाई चेतावनीको रुपमा लिएर उपयुक्त वातावरण नीति कार्यान्वयन गर्न सकेको खण्डमा वायु प्रदुषण कम गर्न सकिने वातावरणविद् भूषण तुलाधर बताउनुहुन्छ ।
विज्ञहरुको सुझावलाई एक कानले सुनेर अर्को कानले उडाउन बानी परेका राज्य संचालकहरुले विपदको अवस्थमा पनि विज्ञप्ति मात्रै निकालेर झारा टार्ने गर्ने गरेका छन् ।
यस पटक पनि वातावरण मन्त्रलयले विज्ञप्ति निकाले विद्युतीय सवारी साधन प्रयोग गर्न, धुवाँ आउने गतिविधि नगर्न तथा प्रदुषण कम गर्न आग्रह गरेको छ ।
सम्भव भएसम्म सबै नागरिकलाई घर बाहिर ननिस्कन र निस्कनु परे सावधानी अपनाउन पनि अपिल गरिएको छ ।
सरकारी नीतिमा सबैकुरा सम्बोधन भए पनि आपत्कालीन अवस्थामा परिस्थिति काबुबाहिर गएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीको दाबी छ ।
विश्वकै प्रदुषित हावा बहने शहरको परिचय मेट्न तत्काल पहल नगर्ने हो भने उपत्यका वासीको स्वास्थ्य अवस्थामा भयावह स्थिति आउने नै छ यसले हाम्रो पर्यटन र अर्थतन्त्रमा पनि नराम्रो क्षति पुर्याउने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्