
काठमाडौं, चैत १६ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बंगलादेश भिडिरहेका छन् ।
नेपालले खेलको शुरुआतदेखि नै आक्रमण गरिरहेको छ ।
खेलको १८ औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको छ । संजोग राईले गोल गरेका हुन् ।
त्यस्तै खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका छन् ।
नेपालले पछिल्लो आठ खेलमा भोगेको अन्तर्राष्ट्रिय खेलको गोलको खडेरीसमेत तोड्न सफल भएको छ ।
फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले सुरुवाती ११ मै मौका पाएका छन् ।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको टिममा डिफेन्समा रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशी रहेका छन् ।
मिडफिल्डमा त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल र विशाल राई रहेका छन् भने फरवार्डमा अन्जन विष्ट रहेका छन् ।
कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेका हुन् ।
नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले कीर्गिस्तानलाई १/० ले हराएको थियो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली फाइनल हेर्न दशरथ रङ्गशाला जानु भएको छ ।
उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ । उपाधि विजेताले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जित्ने छ ।
फाइनल खेलमा अखिल नेपाल फुटबल संघ एन्फाले टिकटमा भारी वृद्धि गर्दै साधारणतर्फ एक हजार र भिआईपीतर्फ दुई हजार रुपैयाँ पु¥याएको छ । यसअघि एन्फाले साधारणतर्फ ७ सय र भिआईपीतर्फ १५ सय बनाएको थियो ।
यो खेलबाटै नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्